काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने बताउनु भएको छ ।
शुक्रबार विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उहाँले सो चेतावनी दिनु भएको हो । त्यसअवसरमा सञ्चारकर्मीहरुले सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानिलकण्ठको पनि मिलेमतो हुने गरेको छ नि ? भन्ने प्रश्न गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराध अनुसन्धानमा आफूले कुनै कोट, टार वा पार्टी नहेर्ने जवाफ दिनु भयो । उहाँले सुनको अवैध धन्दाजस्ता अपराधिक क्रियाकलाप आगामी दिनमा पुनरावृति नहुने गरी नयाँ योजना ल्याउने घोषणा समेत गर्नु भयो ।
उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करी लगायतका अपराध नियन्त्रण गर्न सरकारले सचेतता, सावधानी र गम्भिर्यता अपनाउन नसकेको स्वीकार गर्दै आईन्दा त्यस्तो अवस्था आउन नदिने दृढता समेत व्यक्त गर्नु भयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान सुरु गरेको र त्यसलाई निष्कर्षमा पुर्याएरै छाडने समेत दोेहोर्याउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई सो सुन प्रकरणमा मुछिएको भनेर प्रश्न गर्नै नमिल्ने जिकीर समेत गर्नु भयो । आफूलाई भ्रष्टाचार विरोधी अभियानबाट हच्काउन सो प्रकरणमा मुछ्ने प्रयास गरिएको उहाँको जिकिर थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले सो सुन प्रकरणबारे छानविन गर्न भन्सार विभागले समिति गठन गरेको उल्लेख गर्दै उसले नै छानविनको काम गर्ने र त्यसमा सघाउ पु¥याउनका लागि सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको पनि बताउनु भयो । उहाँले आफूले अनुगमनको क्रममा अध्यागमन विभाग र भन्सार विभागको कामबारे सामान्य जानकारी लिएको बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्सार कार्यालयमा चेकजाँचका लागि प्रहरी परिचालन गर्नका लागि छिट्टै सरकारले आवश्यक निर्णय लिने पनि बताउनु भयो ।