अर्घाखाँची : कारागारका कैदिबन्दीलाई मागका आधारमा सामग्री हस्तान्तरण

ad

लक्ष्मण घिमिरे ,अर्घाखाची ।

सन्धिखर्क – कारागारका कैदिबन्दीलाई सामग्री हस्तान्तरण गरिएको छ । सन्धिखर्क नगरपालिकाले कैदिबन्दीका मागका आधारमा सामग्री हस्तान्तरण गरेको हो । कारागारमै गएर नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजाल, प्रमुख अनुसन्धान अधिकृत ईश्वरी आचार्य लगायतको टोलीले कैदिबन्दीलाई सामग्री उपलब्ध गराएको छ । दुई थान टेलिभिजन सेट, दुई थान फ्रिज, एक थान पानी फिल्टर, एक थान प्रेशर कुकर, टर्च लाईट लगायतका सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

1

प्रदान गरिएको सामग्रीले कैदीबन्दीलाई दैनिकी गुजार्न सहज हुने सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । नगरले महिला कैदिबन्दीका लागी सिलाई कटाई तालिम सञ्चालन गर्ने र सबै कैदिबन्दीको दाँत परिक्षण गर्ने योजनामा रहेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले सामग्री पर्याप्त नभएपनि जिवनयापनमा केही सहजता आउने बताए । कैदिबन्दीलाई पनि सुचनाको पहुँचमा राख्न टेलिभिजन लगायतका सामग्री प्रदान गरिएको उनको भनाई छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका योजना शाखा प्रमुख दिलिप केसी, जिन्सी शाखाका धर्मराज भुसाल, सन्धिखर्क–१ का वडाध्यक्ष माधव श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थिती रहेको थियो ।

1

अर्घाखाँची कारागारमा हाल ६१ जना पुरुष र ९ जना महिला गरी कुल ७० जना कैदिबन्दी छन् । समय समयमा नगरपालिकाले कैदिबन्दीको स्वास्थ्य परिक्षण, विभिन्न तालिमहरुको आयोजना गर्दै आएको छ।

ad