काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसमर्पणवादी भनेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवाद गर्नुभएको छ ।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले विपीले भारत निर्वासनमा बस्न नसकेपछि नेपाल फर्किएर राजासँग आत्मसमर्पण गरेको टिप्पणी गर्नुभएको थियो । राजासँग आत्मसमर्पण गरेको कुरालाई राष्ट्रिय मेलमिलाप नीति भन्ने गरिएको उहाँको जिकिर थियो । सोही अभिव्यक्तिलाई लिएर महामन्त्री शर्माले आपत्ति जनाउनुभएको हो ।
उहाँले अध्यक्ष ओलीले विपी कोइरालाको बारेमा राष्ट्रिय मेलमिलाप नीतिप्रति लक्षित अभिव्यक्ति प्रतिक्रियायोग्य नरहेको बताउनुभयो । उहाँले अध्यक्ष ओलीले कुनैपनि सार्वजनिक कार्यक्रममा अरुको बारेमा तिक्तता नपोखी वक्तव्य टुंग्याए नेपाली समाजले अनौठो मान्नुपर्ने स्थिति आइसकेको बताउनुभयो । महामन्त्री शर्माले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्ति सुसंस्कृत हुन नसकेको बताउनुभयो ।
बिपी कोईरालाले २०३३ सालमा लिनुभएको राष्ट्रिय मेलमिलापाको नीतिप्रति एमालेको संस्थागत बुझाई यही हो भन्दै प्रश्न गर्नुभयो । उहाँले विपी कोइरालाले बनाएको बाटोमै अहिले नेपालको कम्युनिष्ट आन्दोलन अघि बढिरहेको दाबी समेत गर्नुभयो ।