काठमाडौँ । बिहीबार दिउँसो पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले भारतको बिहारबाट नक्कली प्रमाण पत्र ल्याएर चीनमा एमबीबीएस पढेको तथ्य खुलेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लामो अनुसन्धानपछि बिहीबार दिउँसो काठमाडौंको गोल्फुटारस्थित निवासबाटै सांसद शर्मालाई पक्राउ गरेको छ।
शर्माले एमबीबीएस पढ्न चीनको विद्यालयमा पेश गरेको प्रविणतम प्रमाण पत्र तह (आईएससी) को प्रमाणपत्र नै नक्कली रहेको पुष्टि भएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।
शर्माले भारतबाट सुनिलकुमार शर्माको नाममा ल्याएको प्रमाणपत्र बारे सीआईबीले सम्बन्धित विद्यालयसम्म पुगेर बुझेको थियो। सम्बन्धित विद्यालयले पनि उक्त प्रमाण पत्र आफूले नदिएको जानकारी गराएको सीआईबीका प्रवक्ता अधिकारीले बताए।
शर्मासहितका केही चिकित्सकले भारतीय नक्कली प्रमाण पत्रहरु पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलले सञ्चालन गर्ने दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भएको पाइएको छ।नेपालखबरले उल्लेख गरेको छ।