काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
योग्यता, क्षमता र अनुभव समेतलाई आधार बनाई समितिले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य सभापति पशुपति समशेर जबराले जानकारी दिनुभयो ।
यसअघि बसेको समितिको बैठकमा प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो भावी कार्ययोजना समिति समक्ष पेस गर्नुभएको थियो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गत साउन २० गते उमेरहदका कारण सेवाबाट अवकाश लिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश श्रेष्ठलाई संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
संसदीय सुनुवाई समितिले अनुमोदन गरेसँगै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।