एमसीसी पारित हुँदा गरिएको १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिका पठाइएकै छैन : नेत्रविक्रम चन्द विप्लव

1

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले संसद्‌बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरिएको बेला गरिएको १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिका नपठाइएको जिकिर गरेका छन् ।

ad

आलोचना र विवादका बीच २०७८ फागुन १५ गते नेपालको संसद्‌बाट एमसीसी पारित गरिएको थियो । त्यसबेला जस्ताको त्यस्तै पारित नगरेर १२ बुँदामा आफ्नो धारणा/सर्त राख्दै पारित गरिएको थियो । विप्लवले त्यही १२ बुँदा अमेरिकालाई नपठाइएको बताएका हुन् ।

1

“१२ बुँदे व्याख्यात्मक टिप्पणी कहाँ छ ? त्यसको कुनै सुनुवाइ देखिँदैन । सुन्नमा के आएको छ भने १२ बुँदे व्याख्यात्मक टिप्पणी पठाइएकै छैन । अमेरिका पठाइएकै छैन र अमेरिकाले त्यसमा कुनै चासो वा सरोकार नै राखेको छैन । देशको यस्तो सार्वभौमिक विषयमा यसरी लाहापर्वाही तरिकाले, लाचार तरिकाले प्रस्तुत हुनु भनेको अत्यन्तै गम्भीर कुरा हो,” उनले भने ।

उनले यसलाई गम्भीररूपमा लिनुपर्ने बताएका छन् । सेप्टेम्बरबाट लागू हुनेगरी सहमति भएको जिकिर गर्दै उनले भनेका छन्, “प्रहरी, बुद्धिजीवी, अग्रगामी शक्तिहरूले गम्भीररूपमा लिऊन् । हठात् लागू गर्ने काम नहोस् । एमसीएमार्फत एमसीसी लागू गर्ने तयारी गरिँदैछ ।”

उनले यसका विरुद्ध आफ्नो पार्टीले सडक सङ्घर्ष गर्ने बताएका छन् । “हामीले सङ्घर्षको कुरा अगाडि सारिसकेका छौँ । त्यो हाम्रो कुरा होइन, यो नेपालीहरूको आवाज हो । यसमा सबैजना जुट्नुपर्छ,” उनले भने ।

उनले नेपाल इतिहासकै कठिन मोडमा उभिएको बताएका छन् । “हाम्रो देशलाई राजनीतिकरूपमा विचलित बनाइँदैछ, आर्थिकरूपमा कङ्गाल बनाइँदैछ, युवा पिढीलाई निराश बनाइँदैछ, प्राकृतिक स्रोतहरूको दोहन हुँदैछ, नेपाली दिदीबहिनीहरूको तस्करी गरिँदैछ, बौद्धिक सम्पत्तिको विक्री गरीँदैछ,” उनले भने, “अब यो सह्य हुँदैन । यसका विरुद्ध उभिनुपर्छ ।”

1

उनले एमसीएका कर्मचारीहरूलाई पनि चेतावनी दिएका छन् ।”विदेशीको लह-लहैमा, तलबको लोभमा देशप्रति घात गर्नु हुँदैन । एसियाको यूक्रेन बनाउने, युद्ध-मैदान बनाउने उद्देश्यले हामीमाथि एमसीसी लादिँदैछ । यो हामीलाई स्वीकार्य छैन । पैसाको दासत्व भन्दा हामीलाई आजकै जीवन ठिक छ । हामी हाम्रो देश आफैँ बनाउँछौँ । त्यसका लागि हामी सक्षम छौँ,”उनले भने । -नेपाल भ्यु

ad