जङ्गली च्याउ खाँदा छोरा–छोरीको मृत्यु, आमा बिरामी

1

बझाङ । बझाङमा जङ्गली च्याउको तरकारी खाँदा एकै घरका दुई बालबालिकाको ज्यान गएको छ । सँगै तरकारी खाएकी बालबालिकाकी आमा बिरामी छिन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डीएसपी राजेश्वर भण्डारीले जानकारी दिएका छन् ।

Mushroom | Definition, Characteristics, Species, & Facts | Britannicaad

विषालु जङ्गली च्याउको तरकारी खाँदा जयपृथ्वी नगरपालिका–६ नौराका लक्ष्मण कठायतकी ७ वर्षीया छोरी सञ्जिला र उनका दाजु ११ वर्षीय सुदीपको मृत्यु भएको हो । बालिकाको बिहीबार र उनका दाजुको गए राति मृत्यु भएको जानकारी दिंदै,’ डीएसपी भण्डारीले भने, ‘आमा पुनीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।’

गएकाे मंगलबार पुनी कठायतले नजिकैको लेकाली जङ्गलबाट ल्याएको च्याउको तरकारी पकाएर बालबालिकालाई खुवाएकी र आफूले खाएकी थिइन् । घरमुली लक्ष्मण र उनकी ठूली छोरी भने घर बाहिर भएकाले विषालु च्याउको तरकारी खानबाट जोगिएका प्रहरीले जनाएको छ ।

च्याउको तरकारी खाएपछि गम्भीर बिरामी बनेका बालबालिकालाई उपचारका लागि सुरुमा जिल्ला अस्पताल बझाङ लगिएको थियो । त्यहाँ उनीहरुको उपचार सम्भव नभएपछि थप उपचारको लागि दुबै बालबालिकालाई डडेलधुरा लगिएको थियो । बालिकाको उपचारकै क्रममा डडेलधुमा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको अवस्था थप गम्भीर बनेपछि उनलाई गए राति धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी भण्डारीले जानकारी दिए । स्वास्थ्यकर्मीले आमा पुनी खतरामुक्त रहेको जानकारी दिएको डीएसपी भण्डारीले बताए ।

-एनपी

ad