काठमाडाैं । ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन नेपाल बन्द’ अचानक बन्द भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई बचाउ गरेको आरोप लागेपछि ‘प्रेसर थाम्न नसकेर’ पेज बन्दको निर्णय लिइएको स्रोतले बतायो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको स्टाटसका कारण विवादमा परेको उक्त पेज सोमबारदेखि सामाजिक सञ्जालमा नदेखिने भएको हो ।
सोमबार दिउँसो उक्त पेजका सञ्चालक भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । लगत्तै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट पेज हराएको छ । उनले फेरि अर्को स्टाटस लेख्दै भनेका छन्, ‘अब अट्याक्ट गर्नु पर्दैन । स्वार्थले खोलेको थिएन त्यै भएर बाल छैन, बाँकी कुरा पछि गरौंला ।’ पेजवारे पाठकलाई कुनै सूचना दिइएको छैन ।
बालेनमाथि भइरहेको आलोचनालाई डाइभर्ट गर्न भर्खरै सन्तान लाभ भएको जसरी खबर प्रकाशन गरेको आरोप रुटिनमाथि लागेको थियो । पछि उक्त पेजले आफ्नो स्टाटस सच्याएर ‘केही दिनअघि’ भनेर थप्यो । विवादमा परेपछि रुटिनले अस्थायी रुपमा पेज बन्द गरेको हो । बालेन काठमाडौंको मेयरमा उम्मेदवारी दिएपछि रुटिन अफ नेपाल बन्दले उनको पक्षमा लविङ गरेको थियो । बालेन मेयर बनेपछि पनि सो पेजले उनको समर्थनमा लेख्ने गरेको छ । बालेन र भिक्टर नजिकका साथी हुन् ।