काठमाडौं :बैंक तथा विभिन्न वालेटको माध्यमबाट डिम्याट वा मेरो सेयर नवीकरण गर्दा धेरै दिन खाता रिन्यून नहुने समस्या देखिएपछि सीडीएसले यसको समाधनको तयारी थालेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले यसका लागि एपीआई बनिसकेको बताए ।
उनले भने ‘पोलिसी पास हुने क्रममा छ । सेबोनले रिभ्यू पनि गरिरहेको छ । त्यो पास भएपछि हामीले सम्बन्धित पेमेन्ट पार्टनरहरुसँगै सिधै इन्ट्रिगेट गरेपछि उनीहरुको सिस्टमा आएको पेमेन्ट हाम्रो सिस्टमा अटोमेटिक अपडेट हुनेछ । नीति नआएको कारणले रोकिएको हो । त्यो आइसकेपछि हुन्छ ।’ लगानीकर्ताहरुले डिम्याट र मेरो सेयर नवीकरण गर्नका लागि बैंक, मोबाइल वालेट लगायत कनेक्ट आइपीएस मार्फत रकम तिर्दा तत्कालै खाता नवीकरण हुँदैन । त्यसमाथि डीपीले छिटो खाता अपडेट नगरिदिंदा रकम भुक्तानी गरे पनि लगानीकर्ताहरु उक्त सेवा लिनबाट बन्चित हुँदै आएका छन् ।
सीडीएसले डिम्याट खाता नवीकरण नगरी मेरो सेयर मात्र प्रयोग गर्नेको पनि उक्त खाता भदौ १५ गतेदेखि रोक्का गरेको छ । तर जसले डीपीलाई अन्य माध्यमबाट (जस्तैः इसेवा, खल्ती) भुक्तानी गरेका थिए, उनीहरुमध्ये कतिपयको डिम्याट अपडेट देखिएन । त्यसलै पनि ती लगानीकर्ताहरुको मेरो सेयर रोक्का भयो ।
डीपीले सिस्टममा नवीकरण भयो भनेर अपडेट नगर्दा यस्तो भएको न्यौपालेले बताए । ‘पेमेन्ट कलेक्सन गर्ने काम डीपीको हो । डीपीहरुलाई अन्य कुनै माध्यमबाट पेमेन्ट गरेपछि उनीहरुले पनि म्यानुअल्ली अपडेट गरिदिनु पर्छ । सीडीएसको आफ्नो भनेको मेरो सेयर मात्र हो । मेरो सेयर एक्सपाएर हुनु भन्दा केही दिनअघि मेरो सेयरमा रिन्यू गर्नु भनेर आउँछ । डिम्याट हरेक आर्थिक वर्षको अन्तिममा रिन्यू गर्नु पर्छ ।’
‘सीडीएसले गर्ने काम गरिरहेको छ । तर केही डीपीहरुले भने इफोर्ट नलगाएको हामीले पनि महसुस गरेका छौं,’ उनले भने, ‘जसले पे गरेका छैनन् डीपीले टाइममा फलोअप गरिदिएको भए यो समस्या आउने थिएन । डीपीहरुको त्यो कमजोरी हो।’
उनले लगानीकर्तालाई म्यासेज वा मेल मार्फत जानकारी दिने व्यवस्था डीपीले गर्नु पर्ने बताए । सीडीएसले डिम्याट नवीकरण नगर्नेहरुको मेरो सेयर पनि नचल्ने व्यवस्था ल्याएपछि धेरैकोमा डिम्याट रिन्यू गर्न मेरो सेयरमा नोटिस आयो । हरेक वर्ष नवीकरण गर्दै आएको भएता पनि कतिपय लगानीकर्ताहरुको डिम्याट अप टु डेट रिन्यू देखिएन ।
जसले गर्दा धेरैलाई समस्या भएको हो । न्यौपानेले सिस्टममा इन्ट्रिगेसन नभएको कारण डिम्याट नवीकरण गर भनेर मेरो सेयरमा देखिएको बताउँछन् । ‘मेरो सेयर वा डिम्याट हाम्रो सिस्टमबाट नवीकरण गर्दा त्यस्तो देखाउँदैन । आफ्नो प्लाटफर्मबाट पेमेन्ट गर्यो भने सीडीएसले अटोमेटिक अपडेट गरिदिने भयो । तर डीपीलाई सिधै तिर्दा इन्ट्रिगेसन नभएको कारणले त्यो तत्कालै रिन्यू हुँदैन।’ – एनपिले उल्लेख गरेको छ।