काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साउन ३ गते बरामद करिब ६१ किलो सुन तस्करी प्रकरणबारेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सीआईबीका अधिकारीले जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेर ३१४ पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाएको हो।
सीआईबीले यो प्रकरणमा पक्राउ परेका ३२ र फरार रहेका १८ जनासहित ५० जनामध्ये २९ जनालाई मात्रै मुद्दा चलाउनुपर्ने राय दिएको छ।
जसमा पक्राउ परेका २५ जना र फरार सुचीमा रहेका चारजनाविरुद्ध मात्रै मुद्दा चलाउने राय सीआईबीले सरकारी वकिललाई दिएको छ।
यसअघि बुधबार नै पत्रकार सम्मेलन गरेर सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जनासहित ५० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको बताएको थियो।
तर सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले पत्रकार सम्मेलनमा उल्लेख गरिएका ५० जनामध्ये २९ जनालाई मात्रै प्रतिवादी बनाउँदै मुद्दाको फाइल सरकारी वकिलकहाँ बुझाइएको हो।
सीआईबीको निर्णयपछि हिरासतमा रहेका ६ जना छुट्ने भएका छन्। यसअघि पक्राउ परेकी रुक्मिणी सुब्बा भने छुटिसकेकी छन्।