सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं । संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्व. नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

1

त्यसअघि स्व. नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाउनुभएको थियो ।

नेम्वाङलाई प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरु लगायतका नेता कार्याकर्ताहरुले अन्तिम श्रद्धाञ्जली दिनुभयो । उहाँको सम्मानमा नेपाली सेनाको एक टुकडीले १७ तोपको सलामी अर्पण गरेको थियो । उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभयो । नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

ad

नेम्वाङको गत मंगलबार निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै अचेत हुनुभएका उहाँलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

उहाँको पार्थिव शरीरलाई एक दिन नेकपा एमाले पार्टी कार्यालय च्यासल र एक दिन निजी निवास बालुवाटारमा राखिएको थियो । बिहीबार बिहान निजी निवासबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्बाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिएको थियो ।

फोटो – इमेज

ad