तेस्रो दिन पनि शिक्षकहरुको आन्दोलन जारी (तस्बिर सहित)

Open photo

काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको माईतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको विरोध गरेका हुन् ।

ad

गत बुधबारबाट सुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरुले बताएका छन् । शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुले विभिन्न १८ बुँदे असहमति प्रकट गरेका छन् । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।