बझाङ । मंगलबार बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण बझाङमा ६ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय बझाङले ले जनाएको छ ।
प्रहरीका अनुसार सत्यबादी मावि भोपुरका ४ जना विद्यार्थी घाईते भएका छन् । त्यसैगरी केदार स्यू गाउँपालिका र खप्तडछान्ना गाउँपालिकामा एक–एक जना गरी ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङ का सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिनुभयो । उनीहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
यस्तै भूकम्प गएपछि थलारा मावि खोलिमा अध्यनरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा केही बेहोस भएका स्थनीयले जानकारी दिएका छन् । त्यसैगरी भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग समेत अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
जयपृथ्वी राजमार्ग ठाउँ ठाउँमा पहिरो गएका कारण राजमार्ग अबरुद्ध भएको हो । अहिले साना तथा ठूला सवारीका साधन बन्द भएका छन् । जिल्ला भरी भएको क्षतिको विबरण भने आउन अझै बाँकी छ ।आज मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि आजै दिउँसो २ बजेर ४० मिनेट जाँदा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।