सुलिकोट- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी र तस्करहरुलाई ठेगान लगाएपछि मात्रै आफूले विश्राम लिने बताउनुभएको छ । उहाँले मुलुक विकासको निम्ति भ्रष्टाचार र तस्करीको अन्त्य अनिवार्य रहेको उल्लेख गर्नुभयो ।
गाेरखाकाे सुलिकोटमा आयोजित बृहत् राष्ट्रिय लोकदोहोरी महोत्सव २०८० को उद्घाटन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । श्रेष्ठले भन्नुभयो, ‘भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र दण्डहीनताको अन्त्य गरेर मात्र जनतालाई सहज सेवा प्रवाह गर्न सकिन्छ । त्यसैगरी सुशासन र समृद्धिको प्रक्रियालाई अघि बढाउन सकिन्छ ।’
मुलुकमा सुशासन कायम गर्न त्यस्ता गतिविधि नरोकेसम्म विश्राम नलिने उहाँको भनाई छ । तर, आपराधिक कार्यमा संलग्न,भ्रष्टाचारी तथा उनीहरुलाई संरक्षण गर्नेहरू सरकारको पछिल्लो अभियानलाई रोक्ने षड्यन्त्रमा लागिरहेको गृहमन्त्रीको आरोप छ ।