– श्रीकृष्ण भुसाल
१. दर्शनको अर्थ र परिभाषा:
दर्शन जीवन र जगतलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्ने दृष्टिकोण हो। हामीले जीवन भन्नाले मानव जीवन र जगत भन्नाले प्रकृति भन्ने बुझ्नु पर्दछ। त्यसैले प्रकृति, मानव जीवन र यिनीहरू बीचको अन्तरक्रियाको अवलोकन, अन्वेषण, विश्लेषण र परिवर्तन गर्ने मानिसको भित्री आँखा नै दर्शन हो।
आफूले अँगालेको दर्शनको आधारमा नै मानिसले हरेक वस्तु र समाजलाई हेर्ने, जाँच्ने, बुझ्ने र तदनुरूप आफ्नो धारणा र व्यवहार निर्धारण गर्ने गर्दछ।
जसरी एउटा सामान्य ढुङ्गालाई एउटा स्वघोषित धार्मिक व्यक्तिले देवताको प्रतिनिधि ठानेर मन्दिर वा पूजाकोठामा राखेर फूल, टिका र नैवेद्य चढाई पूजा गर्छ, एउटा ईन्जिनियरले भवन, सडक, पुल आदि भौतिक संरचना निर्माणको लागि रोडा, ढुङ्गा, बालुवा जस्तो निर्माण सामग्रीको रुपमा सदुपयोग गर्दछ र एउटा कालिगढले सजावटको सुन्दर सामग्रीको रुपमा बदल्ने गर्दछ, त्यसै गरी प्रत्येक मानिसले जीवन र जगतलाई आफ्नो जीवन दर्शनको आधारमा विभिन्न तरिकाले हेर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्ने गर्दछ।
समाजले पनि एउटै वस्तु र घटनालाई फरक फरक ढङ्गले हेर्न, बुझ्न र व्याख्या गर्न सक्ने व्यक्तिहरू रहेको बहुलवादी चरित्र ग्रहण गरेको हुन्छ। तर पनि सबैभन्दा वैज्ञानिक र सत्यको नजिक रहेको जीवन दर्शन अगाल्न सक्ने व्यक्ति नै समकालीन समाजलाई केही न केही योगदान गर्दै सफल जीवन जिउन सक्दछ।
दर्शनका केही परिभाषा र धारणाहरू:
१.१. “सत्यलाई माया गर्ने व्यक्ति दार्शनिक हुन्।” (सुकरात)
१.२. “परलौकिक वस्तुहरूको वास्तविक प्रकृति पत्ता लगाउने विज्ञान दर्शन हो।” (एरिष्टोटल)
१.३. “सम्पूर्ण कलाहरूको जननी र दिमागको सच्चा औषधि दर्शन हो।” (शिसेरो)
१.४. “विज्ञानका आधारहरूको तार्किक अध्ययन नै दर्शन हो।” (बर्टान रुसेल)
१.५. “दर्शन भनेको ज्ञान सिद्धान्त बाहेक अरु केहि होईन।” (माओत्सेतुङ)
१.६. “हरेक सच्चा दर्शन आफ्नो युगको उच्चतम बौद्धिक सारतत्व हो।” (कार्ल मार्क्स)
१.७. “जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार प्राप्त गर्दछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार प्राप्त गर्दछ ।” (फ्रेडरिक एंगेल्स)
मानिसको जीवनमा आईपरेका समस्याहरुसंग जुध्ने एवं संघर्ष गर्ने र त्यसको हल खोज्ने क्रममा दर्शन जन्मिनुका साथै संघर्षकै क्रममा त्यसको विकास पनि भएको हो।
२. दर्शन शव्दको उत्पती:
दर्शन शब्द संस्कृत भाषाको दृश धातुबाट बनेको हो, जसको अर्थ हेर्नु तथा बुझ्नु भन्ने हुन्छ।
दर्शनलाई अङ्ग्रेजीमा Philosophy भनिन्छ। ग्रीक भाषाको Philos (प्रेम) र Sophia (विवेक) बाट अंग्रेजीमा Philosophy शब्दको व्युत्पत्ति भएको देखिन्छ। Philosophy शव्दको प्रथम प्रयोगकर्ता पाइथागोरस हुन्।
३. दर्शनको भूमिकाः
साँचो कुरा बुझ्न, सही दृष्टिकोण वा धारणा निर्माण गर्न, मानव समाज रुपान्तरणको लागि मार्गदर्शन गर्न, पदार्थ र चेतना बीचको अन्तरसम्वन्धको अध्ययन गर्न र समाजको वास्तविकता वोध गर्न दर्शनको महत्वपूर्ण भूमिका रहेको छ।
हरेक व्यक्तिले जानेर वा नजानेर कुनै एक दर्शनलाई आफ्नो विश्वदृष्टिकोण (विश्वलाई हेर्ने आफ्नो निजी दृष्टिकोण) को रुपमा अँगालेको हुन्छ। “विश्व” भन्नले “जीवन र जगत” वा “मानिस र प्रकृति” लाई बुझ्नुपर्दछ।
आफूले अँगालेको विश्वदृष्टिकोणको आधारमा व्यक्तिले आफ्नो विचारधारा निर्माण गरेको हुन्छ। तदनुसार उक्त विश्वदृष्टिकोण अबलम्बन गर्ने संगठनमा स्वभावतः आवद्ध हुन्छ, जुन सामाजिक, धार्मिक वा राजनैतिक नै किन नहोस्। उदाहरणको लागि कुनै धार्मिक संस्था वा सम्प्रदायले उक्त संस्था वा सम्प्रदायलाई दिशानिर्देश गर्ने दर्शन र त्यसका चालक नियमहरूलाई आफ्नो आस्थाको रुपमा अँगालेको हुन्छ, जसले त्यस संस्था वा सम्प्रदायलाई मार्गदर्शन गर्दछ। त्यसै गरी कुनै राजनैतिक पार्टीले आफूलाई मार्गदर्शन गर्ने दर्शन र उक्त दर्शनको आधारमा प्रतिपादित सिद्धान्तलाई मार्गदर्शक सिद्धान्तको रुपमा अँगालेको हुन्छ। जस्तै: प्रत्येक देशको कम्युनिष्ट पार्टीले मार्क्सवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा अबलम्बन गर्दछ।
मार्क्स भन्दा अघिका दार्शनिकहरुले संसारलाई बुझ्ने र व्याख्या गर्ने मात्र गरे तर मार्क्सले दर्शनको कार्य संसारलाई बुझ्नु र व्याख्या गर्नु मात्र नभई बदल्नु हो भन्ने कुरालाई स्थापित गरिदिए। यसरी जनतालाई परिवर्तन र मुक्तिको बाटो देखाउनु मार्क्सवादी दर्शनको काम हो। मार्क्सले भनेका छन्: “अहिले सम्मका दार्शनिकहरुले संसारको ब्याख्या मात्र गरेका छन् तर मुख्य कुरा त्यसलाई बदल्नु हो”
४. दर्शनका मौलिक सवालहरुः
दर्शनशास्त्रको अध्ययनले मानिसको मस्तिष्कमा उत्पन्न हुने निम्न सवालहरुको जवाफ दिन्छ।
४.१. पदार्थ र चेतना मध्ये कुन प्राथमिक हो ?
४.२. विश्व वोधगम्य छ की अज्ञेय छ ?
४.३. भौतिक जगत र चेतना विचको सम्वन्ध कस्तो हुन्छ ?
४.४. चिन्तन र सत्ताको सम्बन्ध कस्तो हुन्छ ?
तसर्थ यी सवालहरुको जवाफ प्राप्त गर्नु दर्शनको उद्देश्य हो। यी प्रश्नहरूको जवाफ प्रत्येक दर्शनले आ-आफ्नो तरिकाले दिने गर्दछन्।
५. दर्शनका क्षेत्रहरु:
प्रत्येक दर्शनलाई निम्न तीन क्षेत्रहरुमा विभक्त गरी अध्ययन गरिन्छ। जसको सीमाभित्र रहेर उक्त दर्शनले दर्शनका सवालहरुको कसरी हल गर्दछ भनी लेखाजोखा गरिन्छ।
५.१. तत्व मीमांसा (वास्तविकताको सिद्धान्त):
यस अन्तर्गत जीवन र जगत बीचको अन्तरसम्वन्धको बारेमा अध्ययन गरिन्छ। साथै यसमा शाश्वत सत्य वा निरपेक्ष सत्यको बास्तविकता के हो भनि लेखाजोखा गरिन्छ । जसमा निम्न विषयवस्तुहरू पर्दछन्।
५.१.१. धर्मशास्त्र
५.१.२. आत्मासँग सम्बन्धित तत्वज्ञान
५.१.३. ब्रमाण्ड विज्ञान
५.१.४. सृष्टि विज्ञान
५.१.५. जीव-सृष्टि विज्ञान
५.२. ज्ञान मीमांसा (ज्ञान-सिद्धान्त):
प्राचीन दर्शनशास्त्रीहरुले ज्ञान मीमांसा वा ज्ञान-सिद्धान्तलाई नै दर्शनशास्त्रको प्रमुख विषयवस्तुको रुपमा स्वीकार गरेका थिए। यस अन्तरगत ज्ञानका श्रोतहरू र खासगरी पदार्थ र चेतना बीचको अन्तरसम्वन्धको अध्ययन गरिन्छ।
– लेखक :श्रीकृष्ण भुसाल