काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदैछ।
होटल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेशनको उद्घाटन हुँदैछ । प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ ।
यस महाधिवेसनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६-६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरु बद्री केसी र रविना थापा यसपटक पनि प्रत्यासी छन्। महेश श्रेष्ठ र राजेन्द्रकुमार शर्मा पनि अध्यक्षका प्रत्यासी छन् ।
एनआरएनएको यस महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।
एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। एनआरएनएमा ९६ हजार संगठित सदस्य रहेको दाबी गरेको छ ।