काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काममा असहज भएको बताएका छन् ।
आइतबार संघीय संसद् भवनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उनले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काम असहज बन्न गएको बताएका हुन् । माओवादी युद्ध सुरु भएको दिनलाई दिवसको रूपमा मनाउने प्रधानमन्त्री दाहालको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्र संघका महासचिव गुटेरेससँग राख्नुभएको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्र संघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुटेरेसलाई बताएको एमाले उपमहासचिव ज्ञवालीले बताए ।
महासचिव गुटेरेससँग ओलीले संयुक्त राष्ट्र संघलाई नेपालजस्तो विकासोन्मुख देशहरूको बलियो अभिभावकको रुपमा हेर्न चाहेको पनि बताएका थिए ।