काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद ठूला भनिएका तीन दलहरुको इसारामा चल्ने गरेको आरोप लगाएका छन् । तीबाहेक अरु साना र नयाँ दलका लागि संसदा अनुदार रहेको र आफूहरुका कुरा पनि संसदमा प्रभावकारी नभएको बताएका छन् ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ठूला भनेका दलको सिन्डिकेट संसदमा लादिने काम भएको बताए । उनले संसदमा दर्ता भएका संकल्प प्रश्तावहरुको छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति संसदको ध्यानाकर्षण गराए । उनले नागरिक र सरोकारवालाको सुझाव नलिई कानून बनाउने प्रवृत्तिका कारण कानूनहरु राम्रो बन्न नसकेको समेत दाबी गरे । संसदले सत्ता पक्षको बहुमतको बलमा कानुन बनाउँदा जनताको राय लिने स्वाभाविक प्रक्रियालाई निरुत्साहित गरेको आरोप लगाए ।
‘ठूला भनेका दलको सिण्डिकेट लादिने यो संसदमा संकल्प प्रस्ताव कार्यसूचिमै चढ्न सकेन । बेलैमा छलफल नचलाउँदा ती प्रस्ताव अहिले असान्दर्भिक भएका छन्,’ रविले भने, ‘तर समस्याको दीर्घकालीन समाधानको लागि प्रश्ताव ढिलो चाँडो छलफल चलाउनै पर्छ । नागरिक र सरोकारवालको सुझाव नलिइ कानून बनाउने प्रवृत्तिका कारण कानूनहरु राम्रो बन्न नसकेको बताउनु भयो । कानून बनाउनुअघि जनतासमक्ष लैजानुपर्ने रास्वापको प्रश्ताव थियो । तर यो संसदले सत्ता पक्षको बहुमतको बलमा कानून बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहीत गरियो । कानून बनाउँदा राय लिउँ भन्ने बहुमतको बलमा पेलिँदो रहेछ । यो संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार छ ।’
सभापति लामिछानेले नेता, मन्त्रीहरुको विदेश भ्रमणले देशको इज्जत बढे पनि अर्थतन्त्र चलायमान बन्न नसकेकोप्रति दुःख व्यक्त गरे ।