काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरु भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । जाजरकोट भूकम्पपछि कांग्रेसले गठन गरेको उद्धार, राहत र पुनःस्थापनाको अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति गठन गरेको छ समितिको संयोजकमा दुई महामन्त्री छन् । भूकम्प प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारलाई मंगलबार २१ बुँदे सुझाव दिएका नेताहरु बुधबार स्थलगत अवलोकन र अनुगमनका लागि प्रभावित क्षेत्र हिँडेका हुन् ।
कांग्रेसले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५० लाख रुपैयाँ सहयोग रकम जम्मा गरेको छ भने देशभरिका कार्यक्रमहरु स्थगित गरेर नेता कार्यकर्तालाई राहत र उद्धारमा परिचालित हुन निर्देशन गरेको छ । शुभेच्छुक संस्था प्रजातान्त्रिक चिकित्सक संघले प्रभावित क्षेत्रहरुमा चिकित्सक र औषधि पुर्याउने काम गरिरहेको छ भने अन्य भ्रातृ संस्थाहरु पनि भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित छन्
बुधबार प्रभावित क्षेत्र पुग्ने महामन्त्रीद्वय थापा र शर्मा भने मुलत: सात वटा विषयहरुमा केन्द्रीत भएर काम गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरुबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न/गराउन सुझाव र सहजीकरण उहाँहरुले गर्नुहुन्छ,’ मुख्यसचिव पौडेलले विज्ञप्तिमार्फत् भनेका छन्, ‘उद्धार र राहतका क्रममा कांग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेको नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारीतामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनर्स्थापनामा सम्पादन गर्नुपर्ने विषयहरुको अध्ययन गर्नुहुन्छ ।’
महामन्त्रीद्वयसहितको टोलीले घाइतेको उपचारमा ध्यान केन्द्रीत गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थितिलाई ध्यानमा राखेर अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने उनले बताए ।