काठमाण्डाै – मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको कोरला नाका चार वर्षपछि खुुलेको छ ।
हिजो नेपाल र भारतका प्रतिनिधिहरुको उपस्थितिमा नाका पुनः खोलिएको हो । कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलो खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुु गुुरुङले जानकारी दिनुभयो ।
लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न थालेका मुुस्ताङका प्रमुुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुुभयो ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को असोज पहिलो हप्ता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो । कोरोना महामारी फैलिएपछि २०७६ सालदेखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो ।
त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । अब भने नाका नियमित खुल्ला रहनेछ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ ।
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरूले नेपाली भूमिको प्रयोग गरेर विद्रोह गरेका थिए । विद्रोहका कारण २०३२ सालदेखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो । २०५९ सालदेखि चीनले तारबार गरेर मेलाका बेला नाका खोल्दै आएको थियो ।
मुुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाएका लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो । चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा पाँचवटा कन्टेनर जडान गरिदिएको छ ।
कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन् । कोरला नाकाबाट ४५ किलोमिटरको सडक यात्रामा तिब्बतमा रहेको बजार क्षेत्र पुगिन्छ । यो बाटो भएर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश जान पनि सहज रहेको छ ।-उज्यालो