काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।
शुक्रबार बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई आगामी सोमबार बैठकमा बोलाएर एनसेलको शेयर खरिद बिक्रीको सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो ।
त्यसैगरी सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले बताउनुभयो । समितिले प्रधान सेनापतिलाई आगामी बुधबार काठमाडौं-तराई/मधेस द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
सभापति खतिवडाले आगामी दिनमा समितिको बैठक नियमित रुपमा बसेर विधेयकहरु माथि छलफल गर्नुपर्ने भन्दै समिति सदस्यहरुलाई नियमित रुपमा बैठकमा उपस्थित हुन आग्रह गर्नुभयो ।