उनीसँगै पति, सासू या भरपर्दो कुनै एक आफन्त/अभिभावक साथमै हुनेछन् । संगीतसँगै कसरत गर्ने, दुखाइ भएमा मसाज गर्ने सामान पनि त्यहीं हुनेछन् । सुत्केरी स्याहारका बारेमा तीन वर्षको विशेष तालिम लिएका मिड वाइफ भनिने नर्सले उक्त युनिटको नेतृत्व गरेका छन् । ‘यो युनिटको वातावरण पूरै घरको जस्तो पारिवारिक हुन्छ । जटिलता नभएका सामान्य रूपमा सुत्केरी हुनेलाई यो युनिटमा राख्छौं ।
यसको रेखदेख अनुभवी मिड वाइफहरूले गर्नेछन् । केही जटिलता आए विशेषज्ञ चिकित्सकलाई तत्काल खबर पुग्छ,’ अस्पतालका स्त्रीरोग तथा प्रसूति विभाग प्रमुख प्रा.डा. सुनिल पोखरेलले भने । दुई मिड वाइफ र अन्य ६ नर्स यो युनिटमा रहनेछन् । सहज वातावरण भए सुत्केरी हुने महिलामा इन्डोरफिन नामक हर्मोन बढ्ने र पीडा कम गर्न मद्दत गर्ने डा. पोखरेलले बताए ।
यसबाट सामान्य तरिकाले सुत्केरी हुने सम्भावना बढेर जाने उनले बताए । डा. पोखरेलका अनुसार भरतपुर अस्पतालमा चार वर्षयता वार्षिक ९ हजार ९ सय ७० जनादेखि १२ हजार ६ सय ३२ जनासम्म सुत्केरी हुने गरेका छन् । सुत्केरी हुन आएकामध्ये ४० प्रतिशतको शल्यक्रिया हुन्छ । नयाँ बर्थिङ युनिट निक साइमन इन्स्टिच्युटको आर्थिक सहयोगमा बनेको हो । झन्डै एक करोड रुपैयाँको सहयोगमा युनिट तयार गरेको इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा. अर्चना अमात्यले बताइन् । दुई जना मिड वाइफको तलब पनि इन्स्टिच्युटले नै बेहोर्ने छ ।