एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल कांग्रेस नेताहरू आजित भएको दाबी गरेका छन् ।बिहीबार महाकाली—मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तामा रहेका कांग्रेस नेताहरू नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरेका हुन् ।
कांग्रेस नेताहरू अहिले नै २०८४ सालमा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको ओलीको दाबी छ । उनले मिसन-८४ जनताको र हरेक नेपालीको मिसन भएको बताए ।
‘नेपाली कांग्रेसकै नेताहरु पनि भन्न थाल्नुभएको छ, मिसन-०८४ पर्खिन सकिँदैन भनेर । किनभने नेपाली कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर । सबैमा चिन्ता छाएको छ । तसर्थ हामीले अब समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि अन्ततो गत्वा पनि मिसन ०८४ लाई सफल पार्नैपर्छ,’ अध्यक्ष ओलीले भने ।