ठूला उद्योग लाइन काटेपछि एफएनसीसीआईमा आपतकालीन बैठक, ‘सरकारलाई साँचो बुझाउने’

काठमाडौं। प्रधानमन्त्रीको निर्देशन भन्दै नेपाल विद्युत प्राधिकरणले धमाधम ठूला उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासंघले आपतकालीन(इमरजेन्सी) बैठक डाकेको छ।

1

प्राधिकरणले शुक्रबार साँझ देशका ठूला उद्योग जगदम्बा स्टिल, अर्घाखाँची सिमेन्ट, रिलायन्स स्पिनिङ मिल र घोराही सिमेन्टको लाइन काटेको थियो। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड लाइनबापतको बक्यौता नतिर्ने उद्योगको लाइन काट्न निर्देशन दिएका थिए।

शनिबार विहान १० बजे महासंघको कार्यालय टेकुमा हुने बैठकमा नेपाल सिमेन्ट उत्पादक संघ, नेपाल रोलिङ मिल्स एशोसिएसन, नेपाल धागो उत्पादक संघ लगायतका वस्तुगत संघ सहभागी हुनेछन्। महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले आपतकालीन बैठक डाकेका हुन्। अध्यक्ष चन्द्रप्रसाद ढकाल काठमाडौंबाहिर रहेकाले श्रेष्ठले बैठक डाकेका हुन्। बैठकमा सरकारलाई दबाब दिन उद्योगको साँचो बुझाउने निर्णय गर्न दबाब दिने स्रोतले बतायो।

1

‘देशकै प्रधानमन्त्रीले प्राधिकरण र उद्योगीबीच विवाद रहेको विषयमा एकाएक बैठक डाकेर ठूला उद्योगीको लाइन काट्नुस् भनेर निर्देशन दिएपछि हामीले उद्योग चलाइरहनु उपयुक्त हुँदैन,’ महासंघका एक उपाध्यक्षले बिजमाण्डूलाई भने, ‘प्रधानमन्त्री भनेको अभिभावक हो। उहाँले कसैले अन्याय गरेको छ भने हेर्नुपर्ने हो। तर अचानक कुनै प्रसंगविना उद्योगको लाइन काट्न निर्देशन दिएपछि हामीले उद्योग चलाइरहनुको कुनै अर्थ हुँदैन।’

उनका अनुसार डेडिकेटेड र ट्रंकका विषय अहिले पनि केही अदालतमा विचाराधीन छन्। केही उद्योगीले ट्रंक र डेडिकेटेडको निवेदन नै नदिएको भन्दै टीओडी मिटर हेरेर महसुल निर्धारण गर्न भनिरहेको विवादित विषयमा प्रधानमन्त्री पसेर औद्योगिक वातावरण बिगार्ने काम गरेको समेत उनले आरोप लगाए।

‘यो सरकार गठन भएदेखि एकपछि अर्को उद्योगी व्यवसायीलाई आक्रमण गर्ने काम भएको छ। सुरुमा ललिता निवास भनेर भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङदेखि दर्जन व्यवसायीलाई धरपकड भयो। अब देशभित्र राम्रै गरिरहेका र निकासीमा पनि राम्रो योगदान गरिरहेका उद्योगलाई समाप्त पार्ने खेल सुरु भएको छ,’ ती उद्योगीले भने, ‘अब हामी चुप लागेर बस्यौं भने सरकारमा बस्नेले थप प्रताडित बनाउने काम गर्छन्। त्यही भएर सरकारलाई साँचो बुझाउनुको विकल्प छैन।’ उनले देशभित्रका उद्योग व्यवसाय सक्ने र मुलुकलाई थप जर्जर बनाउने रणनीति अनुसार एकपछि अर्को निसाना निजी क्षेत्रलाई बनाउन थालिएको बताए।

1

उनका अनुसार प्रधानमन्त्रीले आफ्नो स्वार्थका लागि उद्योगी व्यवसायीलाई मोहरा बनाइरहेका छन्। ‘आफ्नो स्वार्थका उद्योगी व्यवसायीमाथि आक्रमण भइरहेको छ। यति सामान्य विषय पनि ठूलो गठबन्धन नेपाली कांग्रेसले बुझेको छैन। निजी क्षेत्रप्रति खुला र उदार रहेको कांग्रेसले यस्तो गम्भीर विषयमा समेत बोलेको छैन,’ ती उद्योगीले भने, ‘त्यसैले अहिले कांग्रेस सरकारमा आउँदा र अर्थमन्त्री हुँदा समेत निजी क्षेत्रले सकारात्मक रेस्पोन्स गरेको छैन।’

 

111Open photo