सर्लाही । सर्लाही जिल्ला अदालतले बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको ईजलासले उक्त मुद्दामा बिहीबार सुनुवाई गर्दै आरोपी बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
बम्जनलाई अहिले नै कसुरदार होइन भनीहाल्न सकिने अवस्था नदेखिएको भन्दै पछि ठहरे बमोजिम हुने गरी थुनामा राख्न ईजलासले आदेश दिएको हो ।
विभिन्न स्थानबाट यौन दुरुपयोग, जबरजस्ती करणी, बेपत्ता पारिएकोसहितका आरोपमा उजुरी परेका बम्जनलाई सर्लाही जिल्ला अदालतबाट बाल यौन दुरुपयोग मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो ।
बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ साल माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौंको बूढानिलकण्ठबाट मंगलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरी बुधबारनै सर्लाही पठाएको थियो ।
अर्को पेसी माघ ७ गतेका लागि तोकिएको छ ।