काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ । आज नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहमा उहाँले उक्त कुरा बताउनुभएको हो ।
आम सञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानूनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको मन्त्री शर्माको भनाइ छ ।
आम सञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानून निर्माणमा जोड दिएको पनि मन्त्री शर्माले बताउनु भयो । उहाँले सरकारी सञ्चारमाध्यम सरकारी सूचना प्रशारण गर्ने एकोहोरो प्रशारक मात्र नभएको भन्दै सबै कार्यलाई जनताको बीचमा लैजाने र जनताको आवाज र गुनासो, अपेक्षासम्मलाई राज्य समक्ष पु¥याउने माध्यम हुनुपर्ने जिकिर गर्नुभयो ।
मन्त्री शर्माले नेपाल टेलिभिजनसहित सार्वजनिक पसारण क्षेत्रको पुनः संरचनाको तयारी भएको बतानु भयो । नेपाल टेलिभिजन र रेडियोनेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधि सभाको विषयगत समितिमा छलफल भइरहेको बताउनु भयो ।
मन्त्री शर्माले सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर उपयुक्त र सुलभ प्रविधिको प्रयोगमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।