शक्ति र राजनितिको आडमा सार्वजनिक जग्गा हडप्नेलाई कारबाही हुनुपर्छ : गगन थापा

spot_img

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति र राजनीतको आडमा सार्वजनिक सम्पत्ति हडप्ने जोसुकैलाई कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन्। बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद थापाले यस्तो बताएका हुन्। उनले सहकारीमा राखेको बचत अपचलन गर्ने र सार्वजनिक जग्गा हडप्ने दुवैलाई कारबाही हुनुपर्ने भन्दै जोडदार माग गरे।

‘राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति गलत गर्नेले होस् दण्डित हुनुपर्छ। हातमा तागत होस् या कलम होस् उसलाई दण्डित गरिनुपर्छ’, उनले भने, ‘सार्वजनिक जग्गा हडप्ने जोसुकैले पनि दण्डित हुनुपर्छ। जग्गा हडप्ने होस् या मिच्ने कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन। आमनागरिकले सहकारीमा जम्मा गरेको निक्षेपमा ठगीको धन्दा चलाउनेमाथि कारबाही हुनुपर्छ’, उनले भने, ‘चाहे जग्गा मिच्ने होस्, हड्प्ने होस्, यताको होस् उताको होस् जुनसुकै दलको होस् कसैले पनि उन्मुक्ति पाउनु हुँदैन।’

उनले जनतामा गुम्दै गइरहेका विश्वासलाई पुनर्स्थापित गर्नुपर्ने जिम्मेवारी सबैको भएको बताए। सरकारले कतिपय कमजोरीलाई स्वीकार गरेर नयाँ गर्ने संकल्प गरेपनि अझै लय भने समात्न नसकेको उनको भनाइ छ।

उनले थपे, ‘त्यसको सबैभन्दा बढी जिम्मेवारी लिनुपर्ने सरकारले नै हो। सरकार सञ्चालन गर्ने कुरामा सरकारको नेतृत्व गर्नेले सबैलाई सँगै लिएर हिँड्नुपर्छ। प्रधानमन्त्रीको कतिपय कमजोरीलाई स्वीकारेर नयाँ गर्ने संकल्प गर्नुभएको छ। प्रयास गर्ने खोजिएको छ तर लय समात्न सकेको छैन।’