काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अभियन्ता दुर्गा प्रसाईबीच सरकारबिरुद्ध र जनचासोका साझा एजेन्डामा आन्दोलनको सहकार्य गर्ने सहमति भएको छ। राजधानीको एक होटलमा सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र अभिन्यता प्रसाईंबीच छलफलपछि यस्तो सहमति भएको हो।
प्रसाईंसँगको भेटवार्तापछि लिङदेनले राजसंस्था, हिन्दु राज्य, संघीयता खारेजी र वित्तीय अनुशासन सम्बन्धी एजेन्डा मिल्ने शक्तिसँग सहकार्य गर्ने चाहनाअनुसार प्रसाईंसँग सहकार्य गर्न खोजेको प्रतिक्रिया दिए।
उनले भने, ‘प्रसाईँको आन्दोलन अभियान हो, हाम्रो पार्टी हो। सहकार्यको मोडालिटीबारे थप छलफल गरेर अघि बढ्छौँ।’
प्रसाईंले भोलि (फागुन १) देखि सुरु गर्न लागेको अर्को चरणको आन्दोलनमा राप्रपाका नेता कार्यकर्तालाई पनि सहभागी हुन बाटो खुला भएको छ। प्रसाईंको अभियानले संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रि करण गर्नुपर्ने मागसहित फागुन १ देखि अर्को चरणको आन्दोलन थाल्दैछन्।
२० लाख रुपैयाँभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघसंस्थाहरुको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा १०० जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्ने लगायतका माग पनि प्रसाईंको आन्दोलनले गर्दै आएको छ।
भोलिदेखि सुरु हुने आन्दोलनमा पनि सोही मागलाई उठाउने तयारी रहेको आन्दोलनका अभियान्ताले बताएका छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार दुर्गा प्रसाईंको अभियान र आन्दोलनसँग राप्रपालाई कसरी अघि बढाउने भनेर राप्रपा र प्रसाईंको तर्फबाट दुई/दुई सदस्यीय समिति बनाउने सहमति भएको छ।
राप्रपाले नेताहरु धवलशमशेर राणा र हेमजङ्ग गुरुङ सम्मिलित दुई सदस्यीय समिति बनाएको उनको भनाइ छ।
उनले भने, ‘हाम्रो पार्टीबाट दुई जना तोकिएको छ, प्रसाईंजीका पनि दुई जना थपेर चार जनाको समिति बनाएर एउटा खाका बनाउने सहमति भएको छ, हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापना, प्रदेश संरचनाको खारेजी प्रसाईंजीले उठाइरहेका वित्तीय समस्या, मिटरव्याज सम्बन्धी विषयमा राप्रपाको समर्थन छ, बैंक र सहकारीमा उहाँले उठाएका बिषयमा पनि राप्रपाको समर्थन र सहकार्य छ, यी लगायत जनजीविकाका विषयमा कसरी अगाडि बढ्ने भनेर केही दिनमा खाका तयार गरिनेछ।’ देश सन्चारले उल्लेख गरेको छ।