जीवनको उत्तरार्धमा छु, जिम्मेवारीबाट बाहिरिन चाहान्छु – अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

spot_img

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलाेपटक पार्टीभित्र उत्तराधिकारी खाेजेकाे छन् । मंगलबारबाट सुरू पार्टीकाे विधान सम्मेलनलाई उद्‌घाटन गर्दै अध्यक्ष प्रचण्डले आफू जीवनको उत्तरार्धमा पुगेकाे भन्दै उत्तराधिकारी खाेजेका हुन् ।

उनले सबै माओवादीहरूलाई एकै ठाउँमा आउन पनि अपिल गरे । ‘आउनुस् बसौं, कहाँ कमी भए समीक्षा गरौं’, उनले भनेका छन्, ‘अब सबै माओवादीहरू एकै ठाउँमा आउनुपर्छ, माओवादीहरू एकढिक्का भए मात्रै समाजवादी क्रान्ति पूरा गर्न सकिन्छ ।’

जनयुद्धलाई अपमानित र माओवादीहरूलाई सिध्याउने गरी प्रतिगमनकारीहरू एक ढिक्का हुँदै गरेकाे भन्दै प्रचण्डले मिलेर मात्रै प्रतिकार गर्न सकिने बताए । ‘जनयुद्धलाई अपमानित गर्ने छुट कसैलाई छैन, अपमानित गर्न दुस्साहस गर्नेहरू विरुद्व लड्नु छ, हिजो पनि सखाप पार्न खोजेका हुन् सकेनन्’, उनले भने ।

अहिलेकाे परिवर्तन माओवादीले नै ल्याएकाे भन्दै प्रचण्डले परिवर्तनकाे रक्षाका निम्ति पनि एकाकार हुनुकाे विकल्पन नभएकाे बताए । उनले भनेका छन्, ‘हामीले नै ल्याएको परिवर्तन हो यो, हामीले हाम्रा एजेन्डा स्थापित गर्‍यौँ तर, गणतन्त्रबारे नकारात्मक भ्रम फैलाएर माओवादीलाई हेप्न खोजिन्छ बेला-बेला, जसकाे लागि एकाकार हुनु अनिवार्य छ ।’