राप्रपा नेपालको १ चैत्रमा गर्ने वृहत् जनप्रदर्शनको तयारी सुरु

spot_img

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १ चैतमा काठमाडौंमा गर्ने वृहत् जनप्रदर्शनको तयारी सुरु गरेको छ। पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न समिति गठन गर्दै प्रदर्शनको तयारीलाई तीव्रता दिएको हो।

चैत्र १ गतेको जनप्रदर्शनलाई प्रभावकारी बनाउनको निमित्त उपत्यकाको २९ स्थानमा कोणसभा गरिने निर्णय भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।  आगामी फागुन १८ गते काठमाडौंको १ र ६ नम्बर क्षेत्रबाट कोणसभाको शुभारम्भ हुनेछ। उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुरका धेरै क्षेत्रमा कोणसभा आयोजना हुनेछन्। 

बैठकले राजिव पराजुली, केशवराज श्रेष्ठ र दमन बस्नेत रहेको आर्थिक समिति गठन गरिएको छ। 

यसैगरी पुरु दाहाल, विकास प्रजापति र कुमार गजुरेल रहेको सामाजिक सञ्जाल परिचालन समिति गठन गरिएको छ। राप्रपा नेपालले भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरूलाई कानुनको कठघरामा उभ्याउन, मिटरब्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न जनआन्दोलनको तयारी गर्ने निर्णय गरेको हो।