संघीय संसद सुन चोरहरुको अखडा बनेको छ : पूर्वसभामुख ढुंगाना

spot_img

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संघीय संसद सुन चोरहरुको संसद बनेको बताउनुभएको छ ।

मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले वर्तमान संघीय संसद सुन चोरहरुको बनेको बताउनुभएको हो । उहाँले संसद ठेकेदार, फटाहा र स्पोन्सरहरुको बनिरहेको पनि बताउनुभयो ।

 

पूर्वसभामुख ढुंगानाले सबै भ्रष्टाचारीहरुलाई सांसद बनाउन गइरहेका भन्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताउनुभयो । पार्टीले जनसेवी र प्रसिद्ध नेतालाई चुनावको टिकट नदिई पैसामा बेच्ने गरेका उहाँले बताउनुभयो ।

पूर्वसभामुख ढुंगानाले संविधानको आधारभुत चरित्रमाथि प्रश्न उठिरहेको भन्दै मासले आन्दोलन गरेमा ०७२ सालको संविधान उल्टिन सक्ने बताउनुभयो । उहाँले मास आन्दोलनका कारण ०४७ सालको संविधान उल्टिएको दृष्टान्त समेत दिनुभयो । उहाँले सरकारका मन्त्रीहरु भ्रष्टाचारमा मुछिँदासमेत प्रधानमन्त्रीले हटाउन नसकेको भन्दै सरकार सकसमा चलिरहेको बताउनुभयो । उहाँले सरकारले अपm्ठ्यारो फुकाउन सक्नुपर्ने बताउनुभयो ।

पूर्वसभामुख ढुंगानाले सबै विरोधीहरु गणतन्त्र विरोधी नभएको पनि बताउनुभयो । उहाँले सबै विरोधीहरुलाई गणतन्त्र विरोधी भन्ने हो भने राजा महेन्द्रले आफूहरुलाई अराष्ट्रिय भनेजस्तै हुने बताउनुभयो । उहाँले सबभन्दा पहिले जनताहरुले विरोध गर्ने परिस्थितिलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयन गर्न सरकारलाई परेको बाधाको बारेमा जनता समक्ष स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

पूर्वसभामुख ढुंगानाले संविधानको सुधार तथा परिमार्जन गरेर मुलुकलाई अस्थिरतामा जानबाट रोक्नुपर्ने बताउनुभयो । उहाँले संविधान संशोधन नगरेमा मुलुक अस्थिरतामा जाने बताउनुभयो ।