सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्रीको विषय संसदमा चर्काउने कांग्रेसको संकेत

spot_img

काठमाडौँ । सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको विषयलाई नेपाली कांग्रेसले संसद्मा चर्काउने संकेत गरेको छ । बुधवार प्रतिनिधि सभा बैठकको शुरूमै आकस्मिक समय लिएर कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगीमा जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै विरोध जनाएकी थिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतमाथिको छलफलका क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अभियोग लागेका व्यक्तिको सम्बन्धमा प्रश्न उठाउन नछाड्ने बताएका हुन् ।कांग्रेस सचेतकको भनाइलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति समेत शर्माले असहमति जनाए ।

‘सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई प्रधानमन्त्रीले गृहमन्त्री बनाएर ल्याउनुभएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनुभएछ,’ सचेतक थिङले भनेकी थिइन् । उनले स्वार्थ बाझिने मन्त्रालयमा ल्याइएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन सहज ढंगले नचल्ने बताइन् ।

संसद्मा बोल्ने क्रममा ओलीले बैठकको शुरूमा कांग्रेसले राखेको विषयमा कटाक्ष गरेका थिए । ‘बिहानको परिस्थिति हेर्दा कांग्रेस दूधकुण्डमा नुहाएर आएकोजस्तो गर्‍यो, उसले ऐना हेरोस्,’ ओलीले भनेका थिए ।

बालकुमारी घटना सम्बन्धमा प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षमा रहेको एमालेले संसद्मा प्रधानमन्त्रीको जवाफ माग गरेको थियो । राज्यका निकायले अनुसन्धान गरिरहेको व्यक्तिलाई मन्त्री बनाएको विषयमा फागुन २४ गतेको बैठकमा समेत विषय उठान गरेको थियो ।

सहकारी ठगीमा फरार रहेका जीबी राईसँग रविको साँठगाँठ र सहकारीको पैसा ग्यालेक्सी टीभीमा लगाएको पाइएको थियो ।

-लोकान्तर