काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा तानिएका नेपाली कांग्रेसका सांसद तथा अर्बपति उद्योगपति विनोद चौधरी श्रीलङ्का उडेका छन् ।
बाँसबारी जग्गा प्रकरणमा आज (बिहीबार) बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र सरकारी वकिल कार्यालयमा बयान दिएपछि चौधरी आजै दिउँसो श्रीलङ्गा उडेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी दिउँसो १ः५७ को श्रीलङ्कन एयरलाइन्सको विमानमार्फत श्रीलङ्काको राजधानी कोलम्बो गएका हुन् । उनी नियमित कामको शिलशिलमा त्यहाँ गएको बताइएको छ ।
गत आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिएका थिए । बाँसबारीको १० रोपनी सरकारी जग्गा कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि चौधरीका भाइ समेत रहेका उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेर यो प्रकरणमा अनुसन्धान अघि बढाइएको थियो । तर, उनी अदालतको आदेशबाट रिहा भएका थिए । यस्तै सीआइबीले बसन्त चौधरीसँग पनि बयान लिएको छ ।
-एनपि