– श्रीकृष्ण भुसाल
आन्तरिक लोकतन्त्रको प्रवर्धन र आन्तरिक एकताको सुदृढीकरण: कम्युनिष्ट पार्टीहरू बीच सहकार्य र एकताको आधार नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता भई नेकपाको निर्माण हुनु नेपालको मात्र नभई विश्व कम्युनिष्ट आन्दोलनको रक्षा र विकासकालागि अत्यन्तै महत्वको ऐतिहासिक परिघटना थियो।
तर, उक्त एकता जोगाउन नसक्नु नेपाली कम्युनिष्ट आन्दोलनको विडम्बना हो। यस अनुभवबाट शिक्षा लिएर फेरी पनि यी दुई पार्टीहरु बिच सहकार्यको सुरुवात हुनु निश्चय पनि खुसीको कुरा हो।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र को आन्तरिक एकता कमजोर भयो भने यी दुई दल बीचको पुनः सुरु भएको सहकार्यलाई प्रतिकूल असर पर्छ।
यस तथ्यलाई आत्मसात गरेर यी कम्युनिष्ट पार्टीहरु भित्र आन्तरिक लोकतन्त्र मजबूत गर्नु आवश्यक छ।
कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरण नेपालको सन्दर्भमा जवजले विकसित गरेको लेनिनवादी संगठनात्मक सिद्धान्तको उन्नत रूप हो। यसलाई भुल्ने छुट एमाले लाई त छैन नै, माओवादी केन्द्रले पनि अनुसरण गर्दा नेपालको कम्युनिष्ट आन्दोलनलाई लाभ नै हुने छ।
कमरेड मदन भण्डारीले विश्व कम्युनिष्ट आन्दोलनको गहिरो अध्ययन र विश्लेषण गरेर निकालेको यो निष्कर्षलाई ओठले जपेर मात्र होइन, व्यवहारमा लागू गरेर अघि बढ्न नसक्ने हो भने नेपालका कम्युनिष्टहरुको हविगत पूर्वी युरोप र पश्चिम बङ्गालको जस्तो हुन बेर लाग्दैन।
त्यसैले पार्टी निर्माणमा आफू सरहको योगदान भएका सहकर्मी तथा सहयात्री हरुको योगदानको उचित कदर गरेर अहिले यी दुई पार्टीहरु भित्र हुर्केको व्यक्तिगत निर्णय र सामूहिक जिम्मेवारीूको उल्टो कार्यशैलीलाई सुल्टो बनाएर सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको कार्यशैली स्थापित गर्न अत्यावश्यक छ।
विगतको कमरेड केपी ओली र कमरेड प्रचण्डले गरेको पार्टी एकताको व्यक्तिगत निर्णय हामी कार्यकर्ताले सामूहिक रुपमा जिम्मेवारी बोध गरी कार्यान्वयन गरिएकै हो। तर पनि उक्त एकता टिक्न सकेन। यसको कारण नेताहरुको यही उल्टो कार्यशैली नै हो, कार्यकर्ता होइनन्।
तसर्थ, अब यी पार्टीहरु भित्र गरिने प्रत्येक निर्णय सहभागितामूलक हुनु जरुरी छ, तव मात्र कार्यान्वयनमा सबैले आ(आफ्नो व्यक्तिगत जिम्मेवारी पूरा गर्न सक्ने अवस्था सिर्जना हुन्छ।
अन्यथा, नेतृत्वको कुनै पनि एकलौटी निर्णय कार्यान्वयनमा समस्या हुनु अति स्वभाविक हुन जान्छ। यस तथ्यलाई आत्मसात गरेर सबै तहका पार्टीका संरचनाहरूमा पार्टीको घोषित नीतिको अधिनमा रहेर सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको आधारमा अघि बढ्ने परिस्थिति निर्माण गर्नु नितान्त आवश्यक छ।
यसै गरी, प्राप्त अवसरहरूको न्यायोचित वितरण पनि पार्टीहरूको आन्तरिक एकताको सुदृढीकरणको अर्को महत्वपूर्ण आधार हो। व्यक्तिवादी र अपारदर्शी निर्णयको आधारमा अवसरहरूको पक्षपातपूर्ण वितरणले कार्यकर्ताहरुमा पार्टीभित्र न्याय मरेको अनुभूति हुन सक्छ। जुन पार्टीभित्रको भावनात्मक एकतामा खलल पार्ने आधार बन्न सक्छ।
तसर्थ, पहिले आन्तरिक लोकतन्त्रको प्रवर्धन गरेर नेकपा एमाले र माओवादी केन्द्रले आ-आफ्नो आन्तरिक एकतालाई सुदृढ गर्नु पर्छ । बलियो आन्तरिक एकताको जगमा मात्र यी दुई पार्टीहरु बिच लामो समय सहकार्य गरि एकताको दिगो आधार तयार गर्दै उक्त सहकार्यलाई पार्टी एकतामा रुपान्तरण गर्न सकिन्छ ।