रातामाटा क्षेत्रको जङ्गलबाट सुरु भएको आगो बस्तिमा पस्दा गाउँ नै उजाड बनाइदियो । १५ वटा घर, १५ वटा गोठ, २ वटा भैसी, ९ वटा बाख्रा र सयौं रोपनी बन क्षेत्र जलेर खरानी हुँदा लाखौंको क्षति भएको छ ।
आगलागीबाट घरबास गुमाएकाहरुको घर संगै गाँस,बास र कपास पनि गुम्यो । जसका कारण आगलागी पीडितहरु अरुको शरणमा पर्नु पर्यो । यसरी पीडामा रहेका धारापानी बासीका दु:खेका मनका घाउलाई टाल्ने मल्हम बोकेर जाने सहयोगीदाताहरु पनि बढेर गएका छन् । बैशाख ९ गतेबाटै सुरु भएको राहत दिनेक्रम अझै जारी छ ।
बैशाख ९ गते जिल्ला प्रशासन मार्फत अर्घाखाँची उद्योग वाणिज्य संघको खाद्यान्न र नेपाल रेडक्रस अर्घाखाँचीको एक-एक थान ओढ्ने,ओछ्याउने कपडा र भाडाबर्तन राहत स्वरूप बितरण गरिएको छ । यस्तै बैशाख १० गते भूमिकास्थान नगरपालिकाले पनि खाद्यान्न प्याकेज बितरण गरेको छ ।
यसैबीच बैशाख १२ गते बुधबार लायन्स क्लब अफ अर्घाखाँची, भूमिकास्थान- रुपन्देही सम्पर्क समाज, ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाज, धारापानी-रुपन्देही सम्पर्क मंच, भूमिकास्थान-८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ र सन्धिखर्क-८ का भरतमणी पौडेलद्वारा आगलागी पीडितलाई विभिन्न राहत सामाग्री वितरण गरिएको छ। सहयोगी दाताहरुले आगलागी पीडितलाई लत्ताकपडा, भाडावर्तन, आवास निर्माणको लागि रकम र जिन्सी समेत दिनुभएको छ ।
भूमिकास्थान नगर-प्रमुख झविलाल थापा, उप-प्रमुख बालकृष्ण बन्जाडे, भूमिकास्थान-३ का वडा अध्यक्ष कृष्णप्रसाद बन्जाडे, भूमिकास्थान-८, का वडाध्यक्ष राजकुमार श्रेष्ठ, लायन्स क्लबका जोन चेयर प्रशन हरी प्रसाद भुसाल, डिष्टृक चेयर प्रशन कृष्ण प्रसाद भुसाल, क्लबका अध्यक्ष प्रकाश परियार, धारापानी-रुपन्देही सम्पर्क मंचका महासचिव
सन्ताेष बन्जाडे, ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका सह-सचिव टेकराज भुसाल, भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष रामप्रसाद भुसाल, सन्धिखर्क-८ का समाजसेवी भरतमणी पौडेल लगायतकाे उपस्थितिमा राहत सामाग्री वितरण गरिएको हो ।
आगलागीबाट घरगाेठ दुवै जलेर नष्ट भएका भूमिकास्थान- ३ र ४ का १५ घरपरिवारलाई धारापानी-रुपन्देही सम्पर्क मंचले एक-एक सेट बिस्तारा, प्रेसर कुकर, चटाई सहितको सेट, लायन्स क्लब अफ अर्घाखाँचीले एक-एक सेट बिस्तारा, खाना खाने भाडावर्तन, पि-फम सहितको सेट, भूमिकास्थान-८, का वडाध्यक्ष राजकुमार श्रेष्ठले ३० थान पातलो बलाङ्केट वितरण गर्नुभएको हो ।
यस्तै भूमिकास्थान-रुपन्देही सम्पर्क मंच र ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले आवास निर्माणको लागि वडा स्तारिय बिपत ब्यवस्थापन समितिलाई १०१० हजार रुपैयाँको चेक हस्तान्तरण गर्दा सन्धिखर्क-८, किमडाडाका भरतमणी पौडेलले दुई बण्डल जस्ता पाता दिने घोषणा गर्नुभएको छ ।
यसरी गाँस, बास र कपासको सहयोग बोकेर धारापानी जाने दाताहरुलाई भूमिकास्थान नगरपालिका र पीडित परिवारले धन्यवाद ज्ञापन गरेका छन् ।
आगलागी पीडितहरुको आवास बनाइदिने चौतर्फी वचन र सहयोग संकलन अभियान चलाइएपनी घर बनाउने कामको थालनी भने कुनै पक्षबाट पनि हुन सकेको छैन ।