-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
सन्धिखर्क- सन्धिखर्क नगरपालिकाको नीति तथा कार्यक्रममा स्विकृत योजना अन्तर्गत किसानलाई हातेट्याक्टर मिनिटेलर, कुटानी–पिसानी कम्बाइन मिल र मकै छोडाउने मेसिन कर्न सेलर प्रदान गरिएको हो ।
सन्धिखर्क नगरपालिकाले ४० प्रतिशत अनुदानमा १२ वटै वडामा ५ सय जना किसानलाई सेवा दिनेगरी सहकारी, समूह र कृषि फार्मलाई ३० वटा कुटानी पिसानी मेशिन, १४ वटा हाते ट्याक्टर र ६ वटा मकै छोडाउने मेशिन हस्तान्तरण गरेको छ ।
काम गर्ने दक्ष जनशक्तिको अभावमा खेतियोग्य जमिन बाँझिदै जान थालेपछि नगरपालिकाले कृषिमा यन्त्रिकरण भित्राउन थालेको उप–प्रमुख मिश्रा आचार्यले बताउनुभएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु।२० लाख बजेटबाट टेन्डर आव्हन गरि १५ लाख ३४ हजारमा कृषि औजार खरिद गरेर किसानलाई अनुदानमा प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभएको छ ।
“हामीले हालसम्म बांडेका कृषि औजारले सिंगो पालिकालाई नै समेट्छ, किसानले प्रविधि भित्राउदा कम जनशक्ति र कम खर्च हुन्छ, लागत घटेपछि किसानलाई नाफा हुन्छ, कृषिमा लगाव बढ्छ” प्रमुख प्रशासकिय अधिकृत भुसालले भन्नुभयो “युवा पलायनले गाउँमा काम गर्ने मानिस नहुँदा कृषि उत्पादन र बजारिकरणमा समस्या छ, त्यसैलाई मध्यनजर गरेर हामीले कृषि औजार अनुदानमा दिएका छौं ।
” विभिन्न कृषक समूह, सहकारी र कृषि फार्मलाई ४० प्रतिशत अनुदानमा ५० जनालाई कृषि औजार वितरण गरेको सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनु भएको छ ।
नगरपालिकाले हाते ट्याक्टर प्रति थान ४७ हजार, कुटानी पिसानी प्रति थान २७ हजार र मकै छोडाउने मेशिन प्रति थान ११ हजारमा खरिद गरि ४० प्रतिशत अनुदानमा कृषकलाई प्रदान गरेको कृषि शाखा प्रमुख भट्टराईको भनाई छ ।
अनुदानमा कृषि औजार पाउदा आफुहरु निकै खुसी भएको सन्धिखर्क नगरपालिकाका अगुवा कृषक शोभाखर अधिकारीले बताउनुभएको छ ।
थप तस्बिर: