-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।
बैशाख–२९, धारापानी – अर्घाखाँचीको भूमिकास्थान–४,धारापानीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
भूमिकास्थान नगरपालिकाको आयोजना र जिल्ला आँखा अस्पताल अर्घाखाँचीको समन्वयमा शनिबार गरिएको शिविरमा २ सय जना भन्दा धेरै व्यक्तिले सेवा लिएका छन् । निशुल्क आँखा शिविरबाट २ सय ३७ जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएको भूमिकास्थानका स्वास्थ्यशाखा प्रमुख देव बहादुर थापाले जानकारी दिनुभएको छ ।
चेकजाँचका क्रममा ९० जनालाई निःशुल्क चस्मा बितरण गर्नुका साथै ५ जनाको आँखामा समस्या देखिएकोले आँखाको अप्रेसनका लागि सुझाव दिइएको अर्घाखाँची आँखा अस्पताल प्रमुख सागर घिमिरेको भनाई छ ।
आम नागरिकलाई सहज वाताबरणमा आँखाको चेक जाँच गरी आफ्नै घर आँगनमा आँखा विशेषज्ञ टोलीमार्फत उपचार गराउन पाउँदा धारापानी सहित विभिन्न स्थानबाट सेवा लिन त्यहाँ पुगेका स्थानिय बासिन्दा खुसी भएका छन् ।
विगतका दिनमा समेत विभिन्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउँदै भूमिकास्थान नगरप्रमुख झविलाल थापाले आउँदा दिनमा समेत यस्ता शिविरलाई निरन्तरता दिंदै जाने वचन दिनुभएको छ । नगरप्रमुख थापाले शरिरका सवै अङ्गको आफ्नै महत्व भएपनि आँखा सबै भन्दा महत्वपूर्ण अङ्ग भएकोले निःशुल्क आँखा शिविर सञ्चालन गरिएको स्पष्ट पार्नुभएको छ ।
शान्ति मा.वि.धारापानीमा नगर प्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको शिविरमा नगरप्रवक्ता तथा वडा नम्बर–४ का वडाध्यक्ष बाबुराम पन्थी, वडा नम्बर–३ का
वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, जिल्ला आँखा अस्पताल अर्घाखाँचीका प्रमुख सागर घिमिरे, भूमिकास्थान स्वास्थ्य शाखा प्रमुख देव बहादुर थापा, जनस्वास्थ्य निरिक्षक सुरेश गैरे, शान्ति मा.वि.धारापानीका प्र.अ.गोपाल प्रसाद पौडेल र धारापानी स्वास्थ्यचौकी इन्चार्ज राम बहादुर के.सी. लगायतको आतिथ्यता रहेको थियो ।
भूमिकास्थानले जेठ ५ गते शनिबार नुवाकोट मा.वि.चिदिचौरमा पनि एकदिने निःशुल्क आँखा शिविरको आयोजना गरेको बताइएको छ ।
थप तस्बिर: