सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले हरेक वर्ष वार्षिक बजेट प्रस्तुत गर्नुअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आएको छ ।

मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने तय भएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफल भने दुवै सदनमा छुट्टाछुट्टै हुनेछ । प्रतिनिधि सभामा जेठको ३,४,६,७,८ र ९ गते हुनेछ भने राष्ट्रिय सभामा जेठ ३,४ र ६ गते हुनेछ । साथै साँझ साढे ५ बजे राष्ट्रिय सभा र ६ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा उपस्थित हुन संसद् सचिवालयले उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत विशिष्ट अतिथिलाई निमन्त्रणा गरी सकेको छ भने राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरुलाई सचिवालयले सार्वजनिक सूचनामार्फत आमन्त्रण गरिसकेको छ ।