नीति तथा कार्यक्रममा अवरोध नगरिदिन कांग्रेसलाई प्रचण्डको आग्रह, संसदीय दलको बैठकले निर्णय गर्ने कांग्रेसको जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई आग्रह गरेका छन् ।

बिहान बालुवाटारमा भएको छलफलमा प्रचण्डले कांग्रेसको माग सम्वोधनका लागि आफुले अधिकतम प्रयास गरिरहेको भन्दै आजको संसद बैठक अवरोध नगरिदिन अनुरोध गरेका हुन् । संघीय संसदका दुवै बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आज सम्बोधन गर्ने कार्यसूची छ । दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।

सहकारी ठगीको विषयमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले राष्ट्रपतिको सम्बोधन समेत अवरोध गर्ने जनाएपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरुलाई बालुवाटार बोलाएर आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीसँग छलफल गर्न महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको छलफलपछि नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले भने, ‘प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा भएको समस्या समाधानका लागि मैले पूरै कोसिस गरिराखेको छु, मैले समस्या समाधान गर्छु, तपाईंहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गरिदिनुस् भन्नुभयो ।’

प्रधानमन्त्रीको आग्रहबारे कांग्रेसले संसदीय दलको बैठकमार्फत निर्णयमा पुग्ने छलफलमा सहभागी लेखकले बताए ।