काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने भएका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। आफ्नो दल विभाजन भएपछि जसपाले ३१ वैशाखमा सरकार छाडेको थियो। उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।
‘यही जेठ सात गते प्रधानमन्त्रीले विश्वासको मत लिनेगरी तयारी गर्नू भनेर पत्र आएको छ,’ उनले भने, ‘त्यही अनुसार सचिवालयले तयारी अघि बढाएको छ।’
प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले चौथोपटक विश्वासको मत लिने तयारी गरेका हुन्।
यस विषयमा प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग पनि छलफल गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न गर्न १३८ सांसदको समर्थन चाहिन्छ। वर्तमान सत्ता समीकरण हेर्दा यसपटक पनि उनले सजिलै विश्वासको मत पाउने देखिन्छ। वर्तमान सत्ता गठबन्धनसँग १५० भन्दा धेरै सांसद हुने अनुमान गरिएको छ।
-एनपी