काठमाडौँ- पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नक्कली खाता विवरण तयार गरेको अभियोगमा दोषी ठहर भएका छन् । कुनै पनि पूर्व अमेरिकी राष्ट्रपति आपराधिक मामिलामा दोषी ठहर भएको यो पहिलो घटना हो ।
उनलाई पोर्न स्टार स्टर्मी डेनियल्सलाई चुप राख्नका लागि दिएको पैसाको कारोबार लुकाउन नक्कली खाता विवरण तयार गरेको अभियोग लगाइएको थियो । यो घटना उनी सन् २०१६ मा राष्ट्रपति चुनिनुभन्दा अघिको भएको बताइएको छ।
दोषी ठहर गरिएका ट्रम्पलाई चार वर्षको जेल सजाय हुन सक्नेछ । सजाय भने ११ जुलाईमा तोकिनेछ । उनको पार्टी रिपब्लिकनको अधिवेशनको अघिल्लो दिन उनलाई सजाय तोकिन लागिएको हो । उक्त अधिवेशनले ट्रम्पलाई राष्ट्रपति उम्मेदवार घोषणा गर्नेछ ।
ट्रम्पले भने फैसला अस्वीकार गरेका छन् । उनले असली फैसला आगामी ५ नोभेम्बर (राष्ट्रपति चुनावको दिन) मा जनताले गर्ने बताएका छन् ।
-बिबिसी