काठमाडौं । आज संघीय संसदअन्तर्गत दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १.१५ बजे शुरु हुनेछ ।
प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि सरकारद्वारा संसदमा प्रस्तुत बजेटमाथि आजबाट छलफल हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको वार्षिक आयव्ययको विवरण बजेट ल्याएको थियो । जेठ १५ गते संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत बजेटका लागि चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रकम विनियोजन गरेको बताउनु भएको थियो ।
यसैगरि आज दिउँसो १.१५ बजे शुरु हुने राष्ट्रियसभामा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलको कार्यसूची रहेको छ ।