काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गर्नुभएको छ ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
महामन्त्री थापाले कांग्रेसल चुनावमा गएअनुसारको प्रतिवद्धता अनुसार सरकारमै रहनुपर्ने भएपनि सरकारमा रहेका केही राजनीतिक दलहरुले प्रतिवद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको बताउनुभयो । उहाँले कांग्रेसले अब ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात नलम्ब्याउने पनि नगर्ने बताउनुभयो ।
महामन्त्री थापाले प्रतिपक्षको भुमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न छोड्ने भन्ने नहुने बताउनुभयो । उहाँले कांग्रेस संसदको ठूलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको भन्दै संविधानमा केही कुराहरु संशोधनका लागि अन्य राजनीतिक दलहरुसँग कुराकानीमा रहने बताउनुभयो ।
महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गर्नुभएको आरोप लगाउनुभयो । उहाँले ओलीले महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिनुभएको बताउनुभयो । उहाँले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणायुक्त रहेको बताउनुभयो । उहाँले यस सम्बन्धमा नेपाली काँग्रेसले ओलीको अभिव्यक्ति गलत हो भन्न सक्नुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले पार्टीका विषयमा छलफल गर्ने परिपाटी पुनः विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले काठमाडौं कांग्रेसले रिभाइभ गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै नयाँ राजनीतिक दल भन्दैमा दोषबाट मुक्त गर्न नमिल्ने बताउनुभयो ।