अर्घाखाँची । पार्टी स्थापनाको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले निशुल्क दन्त परिक्षण शिविर संचालन गरेको छ ।
पार्टी स्थापनाको दोस्रो बार्षिकोत्सवलाई अभियानको रुपमा मनाईरहेको पार्टीले अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ४ मा रहेको वीरेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी आज दन्त परिक्षण शिविर सम्पन्न गरेको जिल्ला संयोजक हरिप्रसाद भुसालले बताउनुभयो ।
करीव ९० जनाको दाँतको परिक्षण गरिएको शिविरमा विद्यार्थीहरुका अलावा स्थानीयहरुको समेत सहभागिता रहेको थियो ।
अर्घाखाँची निदान डेन्टल क्लिनिकसंगको सहकार्यमा सम्पन्न शिविरमा धेरैजसो बालबालिकाहरुको दाँतमा किराले खाने समस्या देखिएको दन्त चिकित्सक सन्ध्या अधिकारीले जानकारी दिनुभयो । पार्टी स्थापनाको अवसरमा रास्वपा अर्घाखाँचीले जिल्लामा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।
आज दन्त शिविर सम्पन्न गरेको पार्टीले सात गतेसम्म चरणवद्ध कार्यक्रमहरु घोषणा गरेको छ । ५ गते रक्तदान र ६ गते वृक्षारोपण कार्यक्रम आयोजना गरेको रास्वपा अर्घाखाँचीले यही असार ७ गते सन्धिखर्क र शितगंगाको ठाडामा बृहत चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखेको जनाएको छ ।