हाम्रो नम्बर नै जादूवाला छ, तरिका मिले पूरै अवधि प्रधानमन्त्री भइन्छ : प्रचण्ड

 

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको दावी गरेका छन् । इतिहास, मुद्दा र आन्दोलनका कारणले मात्रै नभई संसद्को जादू नम्बर (सिट संख्या) का कारणले पनि सरकार ढाल्न कसैले नसक्ने दाबी प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परिस्थिति र तरिका मिलेको खण्डमा पूरै कार्यकाल आफैं प्रधानमन्त्री हुने जिकिर गरे । ‘सबै परिस्थिति तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । हामीलाई हटाउन सजिलो छैन । इतिहास, मुद्दा र आन्दोलनका कारणले र हाम्रो जादू नम्बरका कारणले पनि,’ प्रचण्डले भने, ‘जादू नम्बर छ हाम्रो, थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादूवाला नम्बर छ, त्यो जादूले अनेक गरेर मिलाइहाल्छ ।’

उनले आफू प्रधानमन्त्री भएकै बेलादेखि आजै, भौलि नै सरकार ढल्छ भन्ने हल्ला भएको बताउँदै डेढ वर्षदेखि सत्ताको बागडोर सम्हालिरहेको बताए । ‘हामीले भने जस्तो सरकार कति दिन होला ? चल्छ कि चल्दैन ? विभिन्न कुरा आउँछन् । अर्कोले कुरा गर्दैछ अरे, केही दिन पछि सरकार जाँदैछ भनेर तपाईं हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोशिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएको देखि नै हो,’ प्रधानमन्त्री थपे, ‘मैले नै भन्थे, सायद मलाई धेरै दिन बस्न सबै मिलेर दिँदैनन् होला, जति दिन बसिन्छ भ्रष्टाचारविरुद्ध गतिविधि गर्ने हो, सामाजिक न्याय र समृद्धिको निम्ति काम गर्ने भनेको डेढ वर्ष भयो म बसेकै छु ।’

उनले सत्तारुढ दलसँग गरेको समझदारी इमानदारीतापूवर्क पूरा गर्ने पनि बताएका छन् । ‘तैपनि, हामी इमानदार छौं । हामीले राजनीतिक दलसँग जे समझदारी गरेका छौं, जहिले पनि इमानदरपूर्वक नै भएका समझदारी पूरा गर्नेछौँ,’ उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘त्यसकारण आजै केही हुन्छ कि, भोलि नै केही हुन्छ भन्ने कुरा बेकारको कुरा हो । त्यतातिर दिमाग लानै पर्दैन ।’

– Np