-घनश्याम पौडेल।
अर्घाखाँची। संघ, प्रदेशको बजेट ल्याएसँगै स्थानिय तहले असार १० गतेसम्म निति कार्यक्रम तथा बजेट सभामा पेश गर्नुपर्ने हुन्छ । समयअवधि भन्दा अगाडी नै भौगोलिक रुपमा नेपालको सबैभन्दा ठुलो नगरपालिका शितगंगाले निति तथा कार्यक्रम र बजेट ल्याईसकेको छ । अर्घाखाँचीको छत्रदेव, पाणिनीले पनि निति तथा कार्यक्रम ल्याईसकेका छन् । तर शितगंगाले वार्षिक बजेट पनि सभामा पेश गरिसकेको योजना शाखा प्रमुख नुमलाल खनालले जानकारी दिनुभयो ।
उत्पादनमूलक र छिटो प्रतिफल दिने, राजस्व परिचालनमा योगदान पुर्याउने, आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने कार्यक्रम सञ्चालन गर्ने, समावेशी विकास, दिगो विकास, सहस्राब्दी विकासका लक्ष्य, हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, जनमैत्री विकास लगायतका विकासका समसामयिक मुद्दाहरूलाई निरन्तर सम्बोधन गर्ने भएको सभामा नगरप्रमुख तथा सभाका अध्यक्ष छविलाल पौडेलले पेश गरेको निति तथा कार्यक्रममा उल्लेख छ ।
सबै प्रकारका विभेद र असमानताको अन्त्य, समन्यायिक विकास र विकासको प्रतिफलमा न्यायपूर्ण पहुँच पुराउन र उत्तरदायी शासकीय व्यवस्था, शान्ति सुरक्षाको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा वातावरण ल्याउने नीति अगाडि सारिएको छ ।
आर्थिक वर्ष २०८१र०८२ को लागि ८६ करोड ८६ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ । शनिबार १५ औं नगरसभामार्फत नगर उपप्रमुख गिता भाटले सार्वजनिक गरेको बजेटमा चालुतर्फ ६२ करोड ९५ लाख ६५ हजार र पूँजीगततर्फ २३ करोड ९१ लाख २५ हजार रूपैयाँ रहेको छ । संघबाट समानीकरण अनुदान १२ करोड ८० लाख, सशर्त अनुदान ४७ करोड १५ लाख ५५ हजार र राजस्व बाँडफाँडतर्फको रकम १६ करोड ७२ हजार प्राप्त हुने अनुमान रहेको छ ।
लुम्बिनी प्रदेशबाट समपुरक अनुदान १ करोड ५ लाख, संघीय समपुरक अनुदानतर्फ ५० लाख, सडक बोर्ड नेपाल समपुरक अनुदान ६५ लाख, प्रदेश समानीकरण अनुदान ८९ लाख २० हजार, प्रदेश सशर्त अनुदान १ करोड २८ लाख, प्रदेश विशेष अनुदान ३० लाख र प्रदेश राजस्व बाँडफाँट १ करोड १२ लाख र चालु आर्थिक वर्षको अनुमानित बचत १ करोड ४९ लाख २१ हजार हुने प्रारम्भिक अनुमान रहेको भाटले बताउँनुभयो । शितगंगाले ७ गते निति तथा कार्यक्रम र ८ गते वार्षिक बजेट सभामा पेश गरेको हो ।