-कृष्ण परियार,अर्घाखाँची ।
असार १२, सन्धिखर्क । ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले दिने सेवालाई थप प्रविधिमैत्री र सहज बनाउने भएको छ । ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको लागि जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले संचालनमा ल्याएको Traffic Violation Record System (TVRS) Software असार १ गते देखि सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निराज गौतमले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख गौतमका अनुसार सेवाग्राहीहरुलाई कागजपत्रहरु फिर्ता लिन सहज र सरल होस् भन्ने अभिप्रायले उक्त सेवा विस्तार गरिएको हो । यसले सम्बन्धित एरियाको ट्राफिक कार्यालयबाट नै कागजपत्र प्राप्त गर्ने हुँदा जिल्ला ट्राफिक कार्यालयमा आई लाईन बस्नुपर्ने झन्झटबाट मुक्तहुने र समयको समेत बचत हुने गौतमले जानकारी दिए ।
अर्घाखाँची जिल्ला भित्र विभिन्न क्षेत्रमा ट्राफिक कारवाहीमा परेका सवारी धनि तथा सवारी चालकहरुलाई कारवाहीको लागि खिचिएका कागपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी तथा जनसेवा एरियामा नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरे पश्चात फिर्ता लिन सकिने व्यवस्था मिलाईएको छ । उनले भने,“मापसे, लेन र रात्तो बत्ती कारवाहीमा परेका कागजपत्रहरू भने जिल्ला ट्राफिक कार्यलय अर्घाखाँचीमा सचेतना कक्षा पश्चात लिन सकिने व्यवस्था गरिएको गौतमले बताए ।” ट्राफिक प्रहरीले सचेतनाको लागी विभिन्न द्यिालयहरुमा गई सचेतना कक्षाहरु समेत संचालन गर्दै आईरहेको छ । जिल्लाका विभिन्न १ दर्जन बढी विद्यालयहरुमा कक्षा संचालन गरिएको प्रमुख गौतमले जानकारी दिए ।
यस्तै ट्राफिक कार्यालय अर्घाखाँचीले चालु आर्थिक बर्ष २०८०÷०८१ को हालसम्म सवारी कारवाहीमा ४० लाख ११ हजार राजस्व संकलन गरेको छ । गत बर्ष ३७ लाख २१ हजार राजस्व संकलन गरेको प्रहरीले चालु आर्थिक बर्षको जेठ मसान्त सम्ममा गत वर्ष भन्दा २ लाख ८० हजार बढी राजस्व संकलन गरि सकेको छ । प्रहरीले पछिल्लो ३ महिना अर्थात चैत महिनामा ७५५ सवारी कारवाहीमा ५ लाख २८ हजार, बैशाख महिनामा ६४५ सवारी कारवाहीमा ४ लाख ३४ हजार ५ सय र जेठ महिनामा ७७७ सवारी कारवाहीमा ५ लाख ६४ हजार ५०० राजस्व संकलन गरेको छ ।
असार १ गते देखि सवारी कारवाहीमा परी तिर्नुपर्ने जरिवाना रकम राष्ट्रिय वाणिज्य वैंकमा रहेको खाता तथा ई सेवा मार्फत सोझै तिर्न सकिने गौतमले बताए ।