रास्वपा महामन्त्री ढकालको प्रतिवेदन : पार्टी दुर्घटना उन्मुख छ, ओली-प्रचण्डसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा २०८४ पहिल्यै बालेनसँग ठिक’, आज नै चुनाव हुने हो भने पार्टीले एक–दुई सिट जित्ला, म सहदेव बन्न सक्दिनँ’

पार्टी दुर्घटना उन्मुख छ, ओली-प्रचण्डसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा २०८४ पहिल्यै बालेनसँग ठिक’ ‘आज नै चुनाव हुने हो भने पार्टीले एक–दुई सिट जित्ला, म सहदेव बन्न सक्दिनँ’

 

काठमाडौं : गएको उपनिर्वाचनपछि समीक्षा यात्रामा देश-दौडाहा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाबारे एक प्रतिवेदन तयार पारेका छन्। उनले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत निकै खस्किएको विश्लेषण गरिएको छ। यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने उनको प्रतिवेदनमा उल्लेख छ।

महामन्त्री डा. ढकालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको उल्लेख गरेका छन्।

उनले २०८४ को निर्वाचनभन्दा पहिला नै काठमाडौंका मेयर बालेन, धनगढी उपमहानगरका मेयर गोपी हमालसँग सहकार्यको हात फैलाउनुपर्ने उल्लेख गरेका छन्। उनले धरान उपमहानगरका मेयर हर्क साम्पाङबारे भने बोलेका छैनन्।

‘समीक्षा बैठकमा सहभागी अधिकांशको मत पनि बालेनसँगको सहकार्यलाई लिएर थियो। बालेनको टिमसँग हामी नियमित सम्पर्कमा रहे पनि बालेन आफैंको भनाइ अनुसार उनी राजनीतिमा छैनन्। र उनी स्थानीय तहका प्रमुख हुन्। उनको विचारमा या गैरराजनीतिक पद हो,’ ढकालको प्रतिवेदनमा उल्लेख छ।

महामन्त्री डा. ढकालले पार्टीले निर्णय गरेर जनमत बुझ्नका लागि देश दौडाहामा पठाएपछि ३९ जिल्लाका नेता-कार्यकर्तासँगको समीक्षात्मक अन्तरक्रिया गरेर प्रतिवेदन तयार गरेका हुन्।

'घन्टी सुक्दै गयो, ओली-प्रचण्डसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा २०८४ पहिल्यै बालेनसँग ठिक'

महामन्त्री ढकालले प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख रहेको निष्कर्ष निकालेका छन् । प्रतिवेदनमा उनले महाभारतको दृष्टान्त समेत दिएका छन् । ‘पाँच पाण्डवमध्ये सहदेवलाई पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको थियो । उनलाई भूत, भविष्य र वर्तमान देख्ने गरी त्रिकालदर्शनको शक्ति प्राप्त थियो । त्रिकालदर्शी सहदेवले भविष्यको घटना बताउँलान् भनेर श्रीकृष्णले सहदेवलाई आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिए, त्यसैले महाभारतमा सहदेवलाई सबै थाहा भए पनि उनी चुप बसे,’ महाभारतको एउटा सन्दर्भ उल्लेख गर्दै उनले भनेका छन् ।

तर उनले आफू भने सहदेव नबन्ने बताएका छन् । उनले पार्टीको जनमत अत्यन्त कमजोर रहेको र यही अवस्थामा चुनाव भए मुस्किलले राष्ट्रिय पार्टी बन्ने लेखेका छन् । ‘पार्टीको वर्तमान भनेको जनमत छैन, जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा १–२ सिट जित्ला । भोलिका दिनहरू आजकै स्थितिअनुसार अघि बढे, पार्टीको हालत विवेकशीलसरी हुनेछ,’ उनले प्रतिवेदनमा लेखेका छन् ।

उनले पार्टीको खराब अवस्था आउन सक्नेतर्फ सचेत गराएका छन् । ‘यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न मनमा आयो । भागवत गीतालाई मैले सधैँ मानेको छु, र श्रीकृष्णको वचनलाई सधैँ टेरेको छु । यहाँ श्रीकृष्णले नभन्नु भनेका रहेछन् । तर पार्टीलाई जन्मदाताकै रूपमा होस्, वा नेपाली जनताको आशाको रूपमा रहेकाले मलाई मेरो पार्टीप्रति माया छ, चिन्ता छ,’ प्रतिवेदनमा उल्लेख छ ।

-एनपी