सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित ३ जनाविरुद्ध मुद्दा दायर

 

काठमाण्डाै – सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय काठमाण्डाैले आज अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुङ्गाना र राजकुमार तिमल्सिनाविरुद्ध काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

सिधा कुराले ‘डार्क फाइल’ भन्दै अडिओसहित समाचार प्रकाशन गरेको थियो । अडिओ तिमल्सिनाले उपलब्ध गराएको भनिएको थियो । तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा अदालतमा पेश भएको छ ।

सर्वोच्च अदालतले वैशाख २३ गते आदेश गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘डार्क फाइल’ को अडिओ प्रकरणमा छानबिन गरेको थियो । तीनै जनाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा मुद्दा दायर गरेको सीआईबीले जनाएको छ ।

यसअघि सीआईबीले अडिओमाथि अनुसन्धान गरी अडिओ नक्कली रहेको पत्ता लगाएको थियो ।