पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ

 

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेका छन्। पूर्वगृहमन्त्री समेत रहेका थापाका छोरालाई प्रहरीले शुक्रबार साँझ काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो।

भुटानी शरणार्थी प्रकरणमा जोडिएका उनी लामो समयदेखि फरार थिए। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर अभियोग दर्ता गरिएको छ।उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ।

तर उनी काठमाडौंको नक्सालस्थित निलगिरी होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोग पत्रमा उल्लेख छ। उनले बिचौलियासँगको भेटघाटका लागि सम्पर्कस्थान नै उक्त होटललाई बनाएका थिए।

प्रतिक थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आवद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करोडौं रकम उठाउन लगाई ठगी गरेको आरोप छ। बादल गृहमन्त्री हुँदा प्रतिक प्रमुख स्वकीय सचिव थिए।

-एनपी